Swimming - choice in summer for actresses

हिरोइनको रोजाइ गर्मीमा पौडी

गर्मी बढिरहेको बेला अभिनेत्री सुष्मा कार्की केही 'मिस' गर्छिन् भने त्यो हो पौडी। 'तीनवटा फिल्मको लगातार कामले पौडी खेल्न पाएको छैन। गर्मीमा पौडी खेल्न नपाउनु भनेको सजाय नै हो,' उनी भन्छिन्। कक्षा आठ पढ्दा पुर्खौली थलो बर्दियामा उनी मितिनीसँग खोलामा पौडी खेल्न जान्थिन्। हिजोआज चाहिँ कहिलेकाहीँ बहिनीसँग त धेरैजसो एक्लै जान्छिन् उनी।

अन्नपूर्ण होटल र नर्लिङ रिसोर्टका पोखरीमा समेत उनलाई डुबुल्की मार्दै गरेको भेट्न सकिन्छ। आनन्दका साथ एक घन्टा पौडने उनी अचेल खोलामा चाहिँ खेल्दिनन्। एकपटक खोलामा पौडी खेल्दा जुकाले चुसेको उनलाई अहिले पनि झझल्को आउँछ। 'त्यसपछि खेलामा गएर पौडी खेल्न डर लाग्छ,' उनले भनिन्। आजसम्म उनले फिल्ममा स्विम सुट लगाउन परेको छैन। तर, मौका मिले उनी तयार छिन्।

'मेरो भ्यालेन्टाइन' फिल्मको सुटिङमा व्यस्त अभिनेत्री निशा अधिकारीलाई गर्मीमा अल्छी र निन्द्रा लाग्छ। त्यसबाट छुटकारा पाउने माध्यम भएको छ, पौडी। एक हप्ताअघि उनी होटल ग्रान्डमा पौडी खेल्न गएकी थिइन्।

१० वर्षकै उमेरमा पौडिन सुरु गरेकी निशालाई 'वान पिस विथ टप'मा पौडिँदा सजिलो लाग्छ। पौडी खेल्दा ज्यान फिट हुने अनुभव उनको छ। ५५ केजी तौलकी निशा स्विमिङ पुलमा तीन घन्टा बिताउँछिन्। र्‍याडिसन र शंकर होटल उनको नियमित 'पोखरी' हो।

फिल्मको कथावस्तु अनुसार उनले 'पल' र 'मिसन पैसा'मा स्विमिङ पुलको दृश्य दिएकी थिइन्। 'स्कर्टवाला सट भएकोले खासै अफ्ठ्यारो महसुस भएन। बिकिनीको बारेमा चाहिँ सोच्नै पर्छ,' उनले भनिन्। १२ वर्षअघि डाइभ हान्दा स्विमिङ पुलको पिँधमा टाउको ठोकिएकोले उनी अचेल डराउँछिन्।

बन्दका कारण घरमै बसिरहेकी अभिनेत्री नन्दिता केसीले अर्घाखाँचीको पँधेरो खोलामै पौडी सिकेकी हुन्। तर उनलाई पौडन डर लाग्छ। त्यसैले साथीहरूसितै पौडी खेल्न जान्छिन्। पछिल्लोपटक दुई वर्षअघि महेन्द्र पुलिसमा उनले पौडी खेलेको बताइन्।

सात वर्षअघि 'हामी तीन भाइ'को सुटिङको दौरान पोखराको फुस्रे खोलामा पौडी खेल्दा उनी बेहोस भएकी थिइन्। 'ट्युब लिएर आफ्नै सुरमा खेलिरहेको बेला साथीले धकेलिदिएपछि तल पुगेछु। पानीमा डुबेर बेहोस नै भएँ,' उनले सुनाइन्। वान पिसमै सजिलो मान्ने उनले बिकिनी लगाएकी छैनन्।

राम्ररी पौडिन नआउने हुनाले उनी बन्दलगत्तै पौडी सिक्न जाँदैछिन्। 'पौडीपोखरीमा सबैले उस्तै लुगा लगाउँछन्, त्यसैले लाज लाग्दैन,' बताउने उनले 'तिमीमात्र तिमी' फिल्मको लागि स्विमिङको दृश्य दिएकी थिइन्। 'पहिलोपटक भएकोले अप्ठ्यारो महसुस गरियो। सोचेको जस्तो राम्रो भएन,' उनले स्विकारिन्।
अभिनेत्री केकी अधिकारीले पौडी सिकेको एक वर्षमात्र भयो। 'मुटु' फिल्ममा व्यस्त उनी बन्द खोलेपछि पौडी खेल्न जान तयार छिन्। 'आई एम सरी' फिल्मको 'किन हो किन' गीतको सुटिङको बेला फेवातालमा डुबेकी उनी यसपटक पौडीको साधारण कोर्स भ्याउने सोचमा छिन्। 'फेवातालमा डुबेर पनि बाँचेकी हुँ। डरले रोएको याद छ। त्यसैले जसरी पनि पौडी सिक्छु,' उनले प्रण गरिन्।

प्रायः नर्लिङ रिसोर्टमा पौडी खेल्न पुग्ने उनले सुरुको केही दिन ट्युबमा सिकेकी थिइन्। सिकारु भएकाले स्विमिङ पुलमा तोकिएको नियम उनी पालना गर्ने बताउँछिन्।

अभिनेत्री ऋचा शर्मा आफ्नो फिटनेसको रहस्य पौडी पनि रहेको बताउँछिन्। 'मेरो लागि पौडी एक व्यायाम हो, भ्याएसम्म दैनिकजसो एक घन्टा पौडिन्छु। बन्दले गर्दा जान पाएको छैन,' ऋचाले अवगत गराइन्। गर्मीमा शीलत बनाउने माध्यम भएकोले याक एन्ड यतिको निर्भानामा जाने गरेकी छिन्। कामको व्यस्तताले यो गर्मीमा एक पटकमात्र जान पाएकी छिन् उनले।

अहिलेसम्म कुनै फिल्मको लागि स्विम सुटमा नदेखिएकी उनी परेको खण्डमा यो गेटअपमा देखिन तयार छिन्। 'फिल्ममा म एक चरित्र हुने हुँदा, त्यो चरित्रको लागि आवश्यक परे त्यस्तो दृश्य दिन तयार छु,' उनले भनिन्।

आठ कक्षाबाट पौडी खेल्न सुरू गरेकी उनी एक्लै जाने गरेकी छिन्। पौडी खेल्दा सुरक्षित विधि अपनाउने उनलाई टु पिसमा पौडी खेल्दा सजिलो लाग्छ। 'भर्खर स्विमिङ सिक्दा डाइभ हान्नु भनेर जिद्दी गर्दा टाउको फुटेको थियो। त्यसपछि डाइभ हानेकी छैनन्।

'भिजेलान्ते' फिल्मको तयारीमा रहेकी अभिनेत्री प्रियंका कार्कीले अमेरिकाबाट फर्केपछि पौडीको मज्जा लिन पाएकी छैनन्। जिम सुरु गरेपछि नियमित पौडी खेल्ने उनको सुर छ। कक्षा चारदेखि पौडी सुरु गरेकी उनलाई पानी एकदम मनपर्छ। उनी वानपिसमै खेल्न मनपराउँछिन्।'मेरो बेस्ट फ्रेन्ड' फिल्ममा उनले पौडीको दृश्य दिएकी छिन्। 'त्यो दृश्य खिच्दा सजिलै भयो। सायद दर्शकले पचाउँछन् होला,' उनलाई आशा छ।