Nepali actresses not upto fans expectations

केही महिनाअघि घर नजिकै साईबाबाको भजनमा अभिनेत्री करिश्मा मानन्धरको एक गजब 'फ्यान'सँग जम्काभेट भयो।

'तपाईंलाई दोस्रोपटक भेटेको हुँ। १५ वर्षअघि लाजिम्पाटमा पहिलोपटक,' ती व्यक्ति बोल्दै गएछन्, 'त्यतिखेर पिंक कलरको टिसर्ट लगाउनु भएको थियो। म कलम बेच्न आएको थिएँ। ६५ रुपैयाँ भन्दा तपाईंले कस्तो महँगो भन्नु भएको थियो। विनोद दाइले चाहिँ ठिकै छ नि भनेर किन्नु भो।'

यति 'डिटेल'मा ख्याल गर्ने फ्यान भेटेपछि उनी निश्चित भइन्, 'कलाकारमा चुम्बकीय शक्ति हुन्छ भन्थे, हो रहेछ।'

कलाकारको यही शक्तिबारे सोचिरहेको बेला उनीकहाँ एक निर्देशक नयाँ फिल्मको अफर लिएर आइपुगे। २५ वर्षदेखि दर्शकले स्विकार्दै आएकी करिश्मालाई फिल्मभित्र पनि 'हिरोइन'कै रोलमा खेलाउने चाहना रहेछ उक्त निर्देशकको।

'एउटा हिरोइनलाई पुरुष पात्रले दुर्व्यवहार गर्ने र त्यसको बदला आफूले लिनुपर्ने,' हिरोइनको सतही चित्रण गर्न खोज्ने त्यो 'आइडिया' मन नपरेपछि 'सरी' भन्दै फर्काइदिएको उनी खुलाउँछिन्।

बलिउड फिल्म 'डर्टी पिक्चर' हेरेपछि धेरै जना फिल्ममा आफ्नै हिरोइनको 'कथा' देखाउने काममा लागे। अझ मधुर भण्डारकरले समेत 'हिरोइन' फिल्म बनाउने थाहा पाएपछि त 'छुटाउनै नहुने विषय' जसरी लागेका छन् केही।

रोज राणाको 'हिरोइन', नवराज आचार्यको 'कलिउड', शोभित बस्नेतको 'जाउँ हिँड पोखरा'मा हिरोइनकै विषय उठाइने भएको छ। शोभितबाहेक अरुले चाहिँ 'हिरोइन'को भूमिका निर्वाह गर्ने कलाकार नै पाएका छैनन्।
हिरोइनलाई ती फिल्मले कसरी चित्रण गर्लान्, सार्वजनिक भएको छैन। तर, 'बलिउड'कै बुझाइबाट प्रभावित भई त्यस्तै ढंगले चित्रण गरिए अन्याय हुने ठान्छिन् करिश्मा। 'अनपढ, कतै काम नपाएर आएको, छोटो लुगा लगाउने जस्ता विशेषता बोकाइयो भने गलत हुन्छ,' निर्मातासँग सिमाहीन सम्बन्ध बिस्तार गर्नेहरुले छिट्टै 'प्रगति' गरे भनेर बेलाबखत गरिने टिप्पणीको लाइन समातियो भने पनि उनी विपक्षमा उभिनेछिन्।

'एउटा फिल्म खेलेर रातारात केही परिवर्तन हुँदैन। लाइफले यु-टर्न नै लिने भएको भए, यसो भन्न सकिन्थ्यो होला। जतिसुकै हिट भए पनि दरबारमार्गबाट माथि उठ्न नसक्ने परिस्थितिमा कोही त्यस्तो (सिमाहिन) सम्झौता गरेर फिल्म खेल्लान् भन्ने विश्वास छैन मलाई,' टिक्नलाई सम्झौता होइन क्षमता चाहिने तर्क पेश गर्दै उनी त्यसरी नबुझिदिन अनुरोध गर्छिन्।

'कोही झुक्किएर फसेका होलान्। तर, त्यो कुनै निश्चित व्यक्तिको कथा बन्न सक्छ। नेपाली हिरोइनको प्रतिनिधित्व मान्न सकिँदैन,' करिश्माको अडान छ। दुई दिने हिरोइनलाई हेरेर समग्रको मुल्यांकन गर्नु उनको दृष्टिमा गलत हो।

'योगदान हेर्ने हो भने मिथिला शर्मा अपोइन्टमेन्ट नलिई भेट्न नसक्ने स्थान पुग्नु पर्ने। तर, उहाँ अझै पनि स्कुलमा पढाईरहेको भेटिनुहुन्छ। जीविका चलाउन वैकल्पिक पेशा अपनाएर पनि अभिनयलाई निरन्तरता दिनेहरुको विषयले स्थान पाउन हुँदैन?' उनी प्रश्न गर्छिन्।

'बाटो हिँड्दा चारतिरबाट दर्शकले घेर्छन्। गाडीमा हुइँकिन आम्दानीले पुग्दैन। अनि मास्क लगाएर न्युरोडका गल्लीमा किनमेल गर्न कुद्नुपर्छ,' उनी हिरोइनका यी संघर्ष फिल्ममा देखाए जायज हुने बताउँछिन्, 'फिल्मपिच्छे फरकफरक पहिरनमा देखिनुपर्छ। तर, निर्माताले आफैं म्यानेज गर्नू भन्छन्। फिल्म खेल्दा मैले पनि आमा र सासुको एउटा ब्लाउज बाँकी राखिनँ। यो पनि त रियालिटी हो नि!'

परिवार र पेशाको तालमेल, पर्दामा हिट भइरहँदा पर्दा पछाडिका अभाव, रिसले चुर भएको बेलामा पनि खिस्स हाँस्नुपर्ने अवस्था, पिडा लुकाएर पर्दामा प्रकट हुनुपर्ने जस्ता कुरा करिश्माको विचारमा कठिन सम्झौता हो। उनी हिरोइनको 'यथार्थ' देखाउने भनिएका फिल्ममा यिनै कुरा हेर्न चाहन्छन्।

करिश्मा 'ग्ल्यामर इमेज' बोकेकी हिरोइन् हुन्। आफू संलग्न पेशामा टिक्न उनी यसको अपरिहार्यता देख्छिन्। ग्ल्यामर र सुन्दरतालाई हिरोइनको धर्म मान्ने उनी यही विशेषतालाई लिएर आलोचना गर्ने गरेको रुचाउन्नन्। नयाँ पुस्ताका अभिनेत्री उनलाई 'स्मार्ट' लाग्छ। 'उनीहरु जुनसुकै क्षेत्रमा लागे पनि राम्रैसँग गरिखान सक्छन्। तैपनि फिल्ममा स्थापित हुन खोजिरहेका छन्। के ती बिग्रिन आएका होलान् त?' दृष्टिकोण बदल्न सुझाव दिन्छिन् उनी। र, यो क्षेत्र बुझेका मान्छेले फितलो रूपमा हिरोइनको वर्णन गर्लान् भन्ने विश्वास पनि गर्दिनन्।

आफूलाई कसैले आदर्श मानेर फिल्ममा लागेका छन् भन्ने दाबी उनको छैन। तर, जतिबेला 'सन्तान' खेल्ने अवसर पाएकी थिइन् त्यतिबेला उनको कलिलो मस्तिष्कमा शर्मिला मल्ल, तृप्ती नाडकर र कृष्टि मैनालीको दृश्य नाच्थ्यो 'रोल मोडल' बनेर। उनीहरू पनि एकदमै धनी मान्छे होइनन्, सामान्य जीवशैलीमै बाँचेका छन् र आफू जस्तै हुन् भन्ने कुरा फिल्म नखेली बुझिनन् उनले। विवाद र अभाव हिरोइनको साझा विशेषता हो भन्ने उनलाई एउटै फिल्मले अवगत गरायो।

हिरोइनलाई राम्ररी बुझ्न लामो अध्ययनको खाँचो औंल्याउँछिन् करिश्मा। यदि कसैले गलत चित्रण गरेर फिल्म बनाइहाले पनि विचलित नहुन सुझाव दिन्छिन्। हिरोइन बन्ने प्रक्रियाबारे चल्ने हल्लाको पछि नलाग्न अनुरोधसँगै उनी सतर्क गराउँछिन्, 'यो पनि अरु पढाइजस्तै हो। ज्ञान बटुलेपछि मात्र सपना देख्नुस्। बायोडाटा बढाउनुस्। राम्रो फिल्म बनाउने र निरन्तर बनाउनेको कुरा मात्र पत्याउनुस्। क्षमतासहित त्यस्ता व्यक्तिकहाँ पुग्नु भयो भने निराश हुनु पर्दैन।'

हिरोइनका बारे फिल्म बनाउन तम्सिएकालाई भने 'सबैलाई एउटै टोकरीमा राखेर धारणा नबनाउन' सुझाव दिन्छिन्। 'तपाईंले देखे-भोगेका घटनालाई आधार बनाइएको हो भने खुलाउनुस्, सबै एउटै हुन् भन्ने जस्तो गलत आशय नदेखाउनुस्।'