Dilip Rayamajhi: No Time For Dating

राम्रो अभिनय गर्ने कलाकारको रूपमा परिचित दिलीप रायमाझीले विशेष गरेर नृत्य विधामा निपुण मानिन्छन। दिलीप यतिबेला सिनेमा अभिनय र निर्माण दुवै विधालाई एकसाथ अङ्गीकार गर्दै अगाडि बढिरहेका छन् । उनले निर्माण गरेको चलचित्र "मिस यु" यतिबेला प्रदर्शन भइरहेको छ ।

फिल्ममा प्रशस्त अफर आउँदाआउँदै पनि किन आफैं सिनेमा निर्माणतिर लाग्नुभो ?
कुरा त्यसो होइन । अरूको फिल्म खेल्दा भनेजस्तो भूमिका र सोचअनुरूप काम गर्ने अवसर खासै पाइँदैन । एउटा फरक किसिमको काम गरौँ भनेर नै मैले ‘मिस यु’को निर्माण गरेको हुँ ।

अरूको फिल्म खेल्न सजिलो कि आफैं बनाउन सजिलो ?
यसमा त आकाश-पाताल नै फरक छ । अरूको फिल्म खेल्दा सुटिङमा गएर अभिनय गरिदिए पुग्थ्यो तर आफैं फिल्म बनाउँदा भने सुटिङदेखि रिलिजसम्म दौडनुपर्ने अनि हलहरूको पनि चाकडी गर्नुपर्ने अवस्था आउँछ ।

भनेपछि निकै दुःख पाइँदोरहेछ ?
त्यसको त कुरै नगरौँ । दौडधुप र टेन्सन त कतिकति !

भनेपछि रिलिजको तनावले गर्दा महिला-मित्रहरूसँगको उठबस कम हुँदै छ ?
तनावले गर्दा आफ्नो नाम बिर्सने बेला भइसक्यो कहाँ महिला मित्रसँगको उठबस !- डेटिङका लागि समय छैन अहिले । अहिले त ‘मिस यु’को रिलिजमा दौडिरहेको छु ।

कस्तो चलिरहेको छ त मिस यु ?
‘मिस यु’कै रिलिजमा अन्य थप दुई चलचित्र पनि रिलिज भए । तर, ती चलचित्रभन्दा व्यापारमा ‘मिस यु’ नै अगाडि रहेको छ ।

हेर्नेहरूले किन हेरे होलान् मिस यु ?
एक त दर्शकहरूले माया गरेको कलाकारले बनाएको र अर्को कुरा फरक प्रस्तुति पनि छ नि त यसमा ।

यो फिल्मबाट पैसा कमाइएला त ?
पैसा कमाउनभन्दा पनि दर्शकहरूको माया पाउनका लागि ‘मिस यु’ बनाइएको हो । तै पनि लगानी डुब्ने त कुरा छैन ।

रिलिजको समयमा यसकी नायिका नम्रता श्रेष्ठसँगको लफडा के हो नि ?
बजारमा हल्ला चलेजस्तो लफाडा होइन । कार्यव्यस्तताले गर्दा उहाँले सिनेमाको प्रचारप्रसारमा समय दिन नपाउनुभएको हो, अरू खासै होइन ।

यत्रो टेन्सन सहँदा सिनेमा बेक्कार बनाएजस्तो लागेन ?
सुरुमा त लाग्यो । तर, दर्शकबाट राम्रो फिल्म बनाउनुभएछ भनेर स्यावासी पाएपछि भने त्यो टेन्सन नै बिर्सियो ।

भनेपछि सिनेमा बनाउनभन्दा अरूको सिनेमा खेल्नमा नै आनन्द होइन त ?
अहिले त्यै देखियो ।